काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबीचको राजनीतिक संवाद निर्णायक मोडमा पुगेको छ। दुई नेताबीचको तिक्तता मेट्दै सहकर्मीहरूको सक्रियतामा आज शुक्रबार रातिसम्म एकता वा सहकार्यको अन्तिम टुंगो लाग्ने देखिएको छ।
असीम शाह, आसिफ शाह र कुमार बेनको मध्यस्थतामा भइरहेको छ । सभापति रवि लामिछाने बालेन शाहलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने पुरानो प्रतिबद्धतामा कायम रहने सहमति भएको छ। एकीकृत पार्टीमा बालेन शाहको वरीयता सभापति लामिछानेको ठीक मुन्तिर रहने गरी खाका तयार पारिएको छ।
रास्वपाको ‘घण्टी’ चिह्न आम रूपमा स्थापित भइसकेकाले सोही चिह्न अन्तर्गत अघि बढ्न बालेन लचिलो देखिएका छन्। यद्यपि, पार्टीको नाम र उम्मेदवारको अनुपात (७०–३०) बारे थप छलफल भइरहेको छ। बालेनले कुलमान घिसिङ लगायतका विभिन्न प्रभावशाली व्यक्ति र शक्तिहरूलाई नयाँ मोर्चामा गोलबन्द गर्ने जिम्मेवारी लिएका छन्।
समानुपातिक उम्मेदवारको सूची र संख्या निर्धारणका लागि दुवै पक्षका विश्वसनीय सहयोगीहरू (कुमार बेन, असीम शाह लगायत) ले प्राविधिक काम गर्ने समझदारी भएको छ।
पछिल्लो समय बालेनले आफ्नै ‘देश विकास पार्टी’ मार्फत अघि बढ्ने संकेत गरेपछि रवि लामिछाने झस्किएका थिए। तर, युवा पुस्ता (जेनजी) को भावनालाई कदर गर्दै नयाँ शक्तिहरू विभाजित हुनुहुँदैन भन्ने दबाबका कारण दुवै नेता पुनः मिलनविन्दुमा आइपुगेका हुन्। सहजीकरण गरिरहेका असीम शाहले छिटै सकारात्मक घोषणा हुने जानकारी दिएका छन्।
