काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई तत्काल निर्वाचनको विश्वसनीय वातावरण बनाउन सुझाव दिएका छन्। शुक्रबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलसँगको कुराकानीमा उनले यस्तो आग्रह गरेका हुन्।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सरकारले दलहरूसँगको संवादलाई तीव्र बनाएको छ। सोही क्रममा मन्त्री खरेल आज बिहान ९:३० बजे देउवा निवास पुगेका थिए।
भेटका क्रममा सभापति देउवाले सरकारले अहिलेसम्म चुनावी माहोल बनाउन नसकेकोमा चासो व्यक्त गरे। “सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाइसकेको छैन, छिटो बनाओस्,” देउवाको भनाइ उद्धृत गर्दै उनको सचिवालयका एक सदस्यले भने। देउवाले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा समेत जोड दिएका छन्।
मन्त्रीको दौडधुप: देउवापछि ओली र प्रचण्डसँग भेट्दै सरकारका प्रवक्ता खरेल आज दिनभरि नै शीर्ष नेताहरूको निवास पुग्ने तालिका छ। देउवासँगको भेट सकेर उनी बिहान ११ बजे नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास गुण्डु जाने कार्यक्रम छ।
त्यसपछि, मध्याह्न १२ बजे उनी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुग्नेछन्। निर्वाचनका लागि सरकारले गरिरहेको तयारीबारे जानकारी दिन र प्रमुख दलहरूलाई विश्वासमा लिन मन्त्री खरेलले यो दौडधुप थालेका हुन्।
पछिल्लो समय निर्वाचन आयोगले आचारसंहिताको तयारी गरिरहेको र सरकारले चुनावी मिति नजिकिँदै गर्दा राजनीतिक समन्वय बढाएको यो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
