काठमाडौं । नेपाल प्रहरीका २० जना कर्मचारी विगत दुई महिनादेखि कार्यालयमा गैरहाजिर रहेका छन्। लामो समयसम्म कार्यक्षेत्रमा अनुपस्थित रहेका ती कर्मचारीहरूलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन अन्तिम चेतावनी दिएको छ।
शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रधान कार्यालयले असोज र कात्तिक महिनादेखि आफूखुशी गयल भएका कर्मचारीहरूलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो।
खोजतलास गर्दा पनि फेला परेनन्
प्रहरी प्रधान कार्यालयका अनुसार गैरहाजिर भएका कर्मचारीहरूको खोजतलास गरी प्रहरी नियमावली अनुसार प्रक्रिया पूरा गरेर घर ठेगानामा सूचना टाँस गर्दासमेत उनीहरू सम्पर्कमा आएका छैनन्। सम्पर्कविहीन हुनेहरूमा विभिन्न दर्जाका कर्मचारीहरू रहेका छन्।
सेवाबाट हटाइने चेतावनी
जारी सूचनामा भनिएको छ, “गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए प्रहरी नियमावली, २०७१ को नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाइनेछ।”
प्रहरी नियमावलीको उक्त व्यवस्था अनुसार विना सूचना वा स्वीकृत गरा नगरी लामो समयसम्म कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्न सकिने प्रावधान छ।
