वीरगञ्ज । वीरगन्ज उद्योग वाणिज्य संघले अत्यधिक चिसोबाट प्रभावितहरुलाई वितरण गर्न न्यानो कम्बल राहत स्वरुपत हस्तान्तरण गरेको छ ।
केही दिनदेखि वीरगञ्ज तथा यस वरपरका क्षेत्रमा एक्कासी बढेको अत्यधिक चिसो र शीतलहरका कारण आम जनजीवन नराम्ररी प्रभावित बनेको छ।
प्रतिकूल मौसमका कारण गरिब तथा विपन्न वर्गमा परेको समस्यालाई मध्यनजर गर्दै स्थानीय उद्योगी तथा सामाजिक संघ–संस्थाहरूले राहतको पहल सुरु गरेका छन्।
‘मानव सेवा नै जीवनको सर्वोत्तम सेवा हो’ भन्ने मूल उद्देश्यका साथ विभिन्न संस्थाहरूको सक्रियतामा बिहीबार एक समारोहका बीच ३७५ थान कम्बल पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई हस्तान्तरण गरिएको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ।
वीरगञ्जस्थित समर्पण सेवा संस्था, मारुती पेपर केमिकल इण्ड प्रालि, सुशील वनस्पति प्रालि तथा वीरगञ्ज राउण्ड टेबल–३ को संयुक्त सहयोगमा ती कम्बलहरू उपलब्ध गराइएका हुन्।
पर्सा र बारा जिल्लाका अति विपन्न परिवारलाई जाडोबाट जोगाउने उद्देश्यले संघको सहजीकरणमा यो सहयोग उपलब्ध गराइएको हो। हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद गौतमले चिसोको समयमा यस्ता राहत सामग्रीले गरिब परिवारलाई ठूलो सहारा मिल्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा सुशील वनस्पति प्रालिका महाप्रबन्धक विमल शर्मा, वीरगञ्ज राउण्ड टेबल–३ का अंशुमान अग्रवाल, हेमन्त बैध, अंकित अग्रवाल र निशान्त चाचान लगायतको उपस्थिति रहेको थियो। हस्तान्तरण गरिएका कम्बलहरू जिल्ला प्रशासन कार्यालयमार्फत लक्षित वर्गसम्म पुर्याइने बताइएको छ।

