चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनका लागि भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ। जगतपुरमा बसेको निर्वाचन क्षेत्र नं. ३ को बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
महानगर प्रमुखको कार्यकाल एक वर्ष बाँकी छँदै दाहालले राजीनामा दिएर निर्वाचनमा होमिने तयारी गरेकी छिन्। सिफारिस बैठकमा बोल्दै उनले महानगरमा ९ वर्ष काम गरेको अनुभव र जनताको मायालाई साथमा लिएर चुनावी मैदानमा उत्रने बताइन्।
राजनीतिक पृष्ठभूमि र चुनौती: यस निर्वाचन क्षेत्रमा माडी नगरपालिका र भरतपुर महानगरका १९ वटा वडाहरू पर्दछन्। यसअघि २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट उनका पिता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जित हासिल गरेका थिए।
तर, २०७९ को निर्वाचनमा माओवादी र कांग्रेसको गठबन्धन हुँदाहुँदै पनि यस क्षेत्रमा माओवादीका उम्मेदवार डा. भोजराज अधिकारी राप्रपाका विक्रम पाण्डेसँग पराजित भएका थिए। सो समयमा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई नेकपा एमालेले समर्थन गरेको थियो।
विगतको चुनावी हार र राजनीतिक समीकरणका बीच यसपटक रेनु दाहाल आफैँ उम्मेदवार बनेर यो क्षेत्रमा नेकपाको वर्चस्व फिर्ता ल्याउने प्रयासमा छिन्। उनको सिफारिस जिल्ला र प्रदेश कमिटी हुँदै केन्द्रमा पठाइने नेता सन्तोष पनेरुले जानकारी दिनुभयो।
