वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो जगरनाथपुर गाउँपालिका वडा नम्बर २ स्थित सडकखण्डबाट ती व्यक्तिलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको टोलीले जगरनाथपुरबाट जानकीटोलातर्फ आउँदै गरेको बीआर २२ बीएल ०६३२ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर खानतलासी गरेको थियो।
सो क्रममा मोटरसाइकल चालक भारतको बिहार राज्य, पश्चिम चम्पारण, नरकटिया निवासी २६ वर्षीय सुमित कुमारको शरीरमा प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा ३ किलो १२० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार पक्राउ परेका सुमित कुमारको साथबाट गाँजाका अतिरिक्त २६ हजार ५०० भारतीय रुपैयाँ र तस्करीमा प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरिएको छ।
नियन्त्रणमा लिइएका सुमित कुमारमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
