वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले काठमाडौँको केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीहरूलाई वीरगञ्जका विभिन्न स्थानबाट पक्राउ गरेको छ। २०८२ साल भदौ २३ र २४ गते भएको (जेन-जी) zen-G आन्दोलनको फाइदा उठाउँदै कारागारबाट भागेका उनीहरूलाई विशेष सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा बाराको विश्रामपुर गाउँपालिका वडा नं.५ का २५ वर्षीय सुदामा पासवान (प्रदेशी) र बाराकै परवानीपुर गाउँपालिका वडा नं.२ का ३२ वर्षीय विवेकलाल साह कानु रहेका छन्।
सुदामा पासवान कर्तव्य ज्यान मुद्दामा २५ वर्षको जेल सजाय भुक्तान गरिरहेका कैदी हुन्। उनलाई प्रहरी टोलीले पुस ८ गते राति करिब पौने १० बजे वीरगञ्ज महानगरपालिका–१५, भिष्वा क्षेत्रबाट पक्राउ गरेको हो।
त्यसैगरी, बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको हेटौँडा इजलासले तोकेको ५० हजार रुपैयाँ धरौटी तिर्न नसकी भद्रगोल जेलमा रहेका विवेकलाल साह कानुलाई पनि सोही दिन दिउँसो वीरगञ्जको विर्ता टोलबाट पक्राउ गरिएको हो।
प्रहरी प्रवक्ता नायब उपरीक्षक राजु कार्कीका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि वीरगञ्ज कारागार कार्यालय पर्सामा बुझाइसकिएको छ।
