वीरगन्ज । वीरगन्जबाट विभिन्न उद्योगहरुमा ढुवानी गर्ने ट्रकहरुले गैरकानूनी रुपमा चेचिस जोडेर सञ्चालन गरिरहेको पाईएको छ । वीरगन्जबाट राईस मिलहरुबाट नेपालका विभिन्न स्थानमा भुसा ढुवानी गर्ने ट्रकहरुले निर्माता कम्पनीबाट आएको चेचिसमा गैरकानूनी रुपमा जोडेर लम्बाई बढाउने गरेको पाईएको हो ।
सवारी तथा यातायात व्यावस्था ऐन, २०४९ र सवारी तथा व्यावस्थापन नियमावलीको समेत उल्लंघन गरेर सवारी चलाउँदा समेत नियामक निकायहरु मौन बसेका छन् । जानकारी आएका मात्रै बारा पर्सा औद्योगिक करिडोरबाट ४२ वटा १० चक्के सवारी साधनहरुमा चेचिस जोडेर सञ्चालन भईरहका छन् ।
सवारी निर्माता कम्पनीबाट १० चक्के ट्रकको २२ फिटको चेचिस आउने गर्छ । त्यसमा सवारी धनीहरुले ३ फिट वेल्डिङ गरी जोडेर २५ फिटको बनाउने गरेका छन् । प्रचलित कानून अनुसार सवारी साधनमा कुनैपनि संरचना परिवर्तन गर्न पाईदैन । तर, भुस ढुवाी गर्ने ट्रकहरुले भने कानूनलाई पनि चुनौती दिदै सञ्चालन गरिरहेका छन् ।
यस विषयमा नियामक निकाय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालसँग जानकारी लिँदा आफूलाई त्यसको बारेमा कुनै सूचना नआएको प्रतिक्रिया दिए ।
उनले भने, ‘यसको बारेमा मलाई जानकराी आएको छैन के रहेछ म हेर्छु । जानकारी गराउनु भएकोमा तपाँईलाई धन्वयवाद ! यस विषयमा हामी कारवाही अगाडि बढाउछौं ।’
यातायात तथा सवारी व्यावस्थापनका लागि अनुगमन निरीक्षकको पनि ऐनमा व्यावस्था गरिएको छ । तर, अहिलेसम्म अनुगमन निरीक्षकको सक्रियता देखिएको छैन । जसले गर्दा राजमार्गमा सवारी साधनहरु मनलाग्दी सञ्चालनमा गरिरहेका छन् ।
जिल्लामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्ला प्रहरी कार्यालयका प्रमुख सदस्य, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सदस्य, यातायात व्यावसायीबाट एकजना सदस्य, यातायात मजदूरहरुबाट एकजना सदस्य र यातायात व्यावस्था कार्यालयबाट अधिकृत सदस्य सचिव रहनेगरी सवारी व्यावस्थापन समिति रहने कानूनी व्यावस्था छ ।
तर, जिल्लाका यातायात तथा सवारी व्यावस्थापन समितिहरको काम भने अहिलेसम्म प्रभावकारी देखिएको छैन । राजमार्गमा खटिने ट्राफिक प्रहरीहरुले पनि आवश्यक चेकजाँच नगर्ने अनावश्यक चेकजाँच गरेर सडकमा यात्रा गर्नेहरुलाई दुःख दिने गरेको गुनसो बढी आउने गरेको छ ।
कानूनलाई नै चुनौती दिदै खुलेआम ठूला सवारी साधन ट्रकहरु सञ्चालन गरिरहँदा भने ट्राफिक प्रहरी नै बेखर हुनु भित्र केही आर्थिक चलखेल हुनसक्ने आम नागरिकको आशंका छ ।
