काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालत पुग्ने सांसदहरूको संख्या १४३ पुगेको छ। नेपाली कांग्रेसका ६५ र एक स्वतन्त्रसहित थप ६८ सांसदले दायर गरेको निवेदनमाथि आज संवैधानिक इजलासले सुनवाइ गर्दैछ।
यसअघि कांग्रेसका सात सांसदले दायर गरेको रिटमा आफूहरूलाई पनि सरोकारवाला पक्षका रूपमा समावेश गरियोस् भन्दै यी सांसदहरूले निवेदन दिएका हुन्। आजको इजलासले उक्त निवेदन अनुमोदन गरेसँगै उनीहरू पनि औपचारिक रूपमा रिटको पक्ष बन्नेछन्।
एमालेका ७५ सांसदको हस्ताक्षरसहित यसअघि नै रिट दायर भइसकेको अवस्थामा कांग्रेस नेतृत्वको यो नयाँ निवेदनले अदालतमा संसद पुनःस्थापनाको पक्षमा स्पष्ट बहुमत देखाएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्नेमा १४३ सांसदको उपस्थिति हुनुले सरकार गठनका लागि पर्याप्त आधार रहेको पुष्टि गर्दछ।
पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खातीले कानुनी व्यवस्थापन गरेको यस प्रक्रियालाई कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा अगाडि बढाइएको हो।
