काठमाडौं । काठमाडौंको थापाथलीस्थित ब्रिटीश कलेजमा मंगलबार विद्यार्थीहरूले तोडफोड गरेका छन्। कलेजले करोडौँ रुपैयाँ शुल्क लिएर पनि उचित पढाइ नगराई आफूहरूलाई ठगी गरेको भन्दै आन्दोलित भएका विद्यार्थी र प्रहरीबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको थियो।
आन्दोलनकारी विद्यार्थीहरूका अनुसार कलेजले उच्च शिक्षाको प्रलोभन देखाएर भर्ना लिने तर पछि अन्य कलेजमा पठाउने गरेको छ। पढाइ नभएपछि शुल्क फिर्ता माग्दा उल्टै धम्की दिइएको उनीहरूको आरोप छ।
प्रदर्शनका क्रममा प्रहरीले कलेजबाट हटाउन खोज्दा विद्यार्थीहरूले ढुंगामुढा गरेका थिए, जसबाट कलेजको भौतिक संरचनामा क्षति पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार स्थिति नियन्त्रणमा लिन सात जना युवाहरूलाई पक्राउ गरिएको छ।
