काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १० लाख १६ हजार ७ सय ५४ नयाँ मतदाता थपिएका छन्। सोमबार सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सो जानकारी दिनुभएको हो।
यसपटक निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता हुने राजनीतिक दलहरूको संख्या ११४ पुगेको छ, जबकि २०७९ सालको निर्वाचनमा ८७ दलले मात्र भाग लिएका थिए। निर्वाचनका लागि आवश्यक ५१ प्रकारका सामग्रीहरूमध्ये ३७ वटा जिल्लास्तरबाटै खरिद गरिने र बाँकी १४ वटा आयोगले उपलब्ध गराउने तयारी भइरहेको छ।
आयोगले स्वस्तिक चिह्न, मसी, र कागजलगायतका अपुग सामग्री खरिद प्रक्रिया समेत अगाडि बढाएको जानकारी दिएको छ।
