भालुवाङ । एमसीसी परियोजना अन्तर्गत धानखोला–लमही सडकखण्डलाई दुई लेनको सट्टा चार लेनमा विस्तार गर्नुपर्ने माग गर्दै स्थानीयले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी सञ्चालनमा रोक लगाएका छन्।
धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिको अगुवाइमा आज पुस ७ गतेदेखि महिनाभर सरकारी सवारी साधन चल्न नदिने घोषणा गरिएको हो।
संघर्ष समितिका संयोजक प्रकाश शाहीको नेतृत्वमा भेला भएका युवाहरूले राप्ती गाउँपालिका–३ स्थित प्रदेश प्रशासनिक केन्द्रको मुख्य प्रवेशद्वारमा प्रदर्शन गरिरहेका छन्।
आफ्ना माग सम्बोधन नभएसम्म प्रदेश राजधानी क्षेत्रमा सरकारी गाडी चल्न नदिने अडान संघर्ष समितिले लिएको छ। हाल एमसीए नेपालले उक्त सडकखण्डलाई दुई लेनमा स्तरोन्नति गर्ने तयारी गरिरहेको छ।

