काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गते भएको अकल्पनीय घटनाको नैतिक जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले ठुलो पदमा बस्ने व्यक्तिले जिम्मेवारी लिनुपर्ने र आफू त्यतिबेला सरकारमा भएको भए तत्काल जिम्मा लिने बताए। उनले सोही घटनाको जिम्मेवारी बोध गराउन कांग्रेसले तत्कालीन गृहमन्त्रीलाई राजीनामा दिन लगाएको समेत स्मरण गराए।
यता तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अहिलेसम्म घटनाको जिम्मेवारी लिएका छैनन्। आइतबार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ओलीले आफू घटनाको छानबिनका लागि गठित आयोगमा बयान दिन नजाने अडान पुनः दोहोर्याएका छन्। भदौ २३ को मानवीय क्षतिका विषयमा नेताहरूबीच जिम्मेवारीको सवाललाई लिएर बहस चर्किएको छ।
