काठमाडौँ । नेकपा जनपक्ष पार्टी निकट जनपक्षीय विद्यार्थी युनियन, नेपालले घोषणा गरेको शैक्षिक हड्तालका कारण सोमबार काठमाडौँ उपत्यकाका अधिकांश विद्यालयहरू बन्द भएका छन्। १८ बुँदे माग राख्दै युनियनले आह्वान गरेको बन्दका कारण शिक्षण संस्थाले अभिभावकलाई पूर्वसूचना दिएर पठनपाठन ठप्प पारेका हुन्।
युनियनका मुख्य मागहरू:
शुल्कमा ५० प्रतिशत कटौती: विद्यालयहरूले लिँदै आएको शुल्कमा ५० प्रतिशत घटाउनुपर्ने र माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क हुनुपर्ने।
विद्यार्थी भत्ता र ऋण: कक्षा १२ सम्मका विद्यार्थीलाई मासिक ५०० रुपैयाँ भत्ता र उच्च शिक्षा अध्ययन गर्ने इच्छुक विद्यार्थीलाई स्वरोजगारका लागि १० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋणको व्यवस्था हुनुपर्ने।
मताधिकार: विदेशमा रहेका नेपाली विद्यार्थीले आगामी निर्वाचनमै मतदान गर्न पाउनुपर्ने।
भाषा नीति: सरकारी विद्यालयमा अंग्रेजी र राष्ट्रिय भाषामा अध्यापन गराउनुपर्ने।
युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले निजी विद्यालय सञ्चालकहरू (प्याब्सन र एनप्याब्सन) को पनि सहमतिमा विद्यालय बन्द गरिएको दाबी गरेकी छन्। विद्यार्थीहरूको भविष्य र शैक्षिक सुधारका लागि भन्दै युनियनले सरकारलाई दबाब दिन हड्तालको सहारा लिएको हो।
