काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय क्षेत्रमा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्यका लागि अभिभावकहरू नै एकजुट भएर आन्दोलन गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले विद्यालयहरूमा भइरहेको मनपरी, राजनीतीकरण र भ्रष्टाचार हटाउन स्थानीय अभिभावकहरूको कडा चेतावनी र हस्तक्षेप आवश्यक रहेको उल्लेख गरेका हुन्। उनले लेखेका छन्, “शिक्षा मन्त्रालयले मात्र काठमाडौंबाट निर्देशन दिएर नपुग्ने भयो, स्थानीय अभिभावकहरू आफ्नो छोराछोरीको भविष्यका लागि जाग्नुहोस्।”
संविधानले नै अभिभावकहरूलाई विद्यालय सुधारका लागि आवाज उठाउने पूर्ण अधिकार दिएको स्मरण गराउँदै उनले सुधारका लागि ‘जोडदार आन्दोलन’ को विकल्प नरहेको जिकिर गरे। मन्त्रालयको प्रयास मात्र पर्याप्त नहुने भन्दै उनले स्थानीय स्तरबाटै खबरदारी गर्न आह्वान गरेका हुन्।
