काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा राज्यपक्षबाट भएको दमनलाई ‘हत्या’को संज्ञा दिएका छन्। शनिबार काठमाडौँ आइपुगेलगत्तै आन्दोलनका घाइते तथा शहीद परिवारलाई भेट्दै उनले यस्तो बताएका हुन्।
सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आन्दोलनकारीमाथि टाउको ताकी–ताकी गोली हानिएको घटना कुनै पनि हालतमा क्षम्य नहुने उल्लेख गरे। सरकारले घटनाको छानबिन र दोषीमाथि कारबाही गर्न ढिलाइ गरेकोमा असन्तुष्टि जनाउँदै उनले प्रश्न गरे, “सारा संसारले देखेको त्यो क्रूर हत्यालाई पनि सरकारले किन तदारुकताका साथ कारबाही प्रक्रिया अगाडि बढाएन?”
पीडित परिवारले न्याय नपाएसम्म आफ्नो संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गर्दै लामिछानेले नागरिक हत्या गर्नेहरूलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने चेतावनी दिए। उनले सुशासनका सवालमा सरकारलाई साथ दिन तयार रहे पनि अन्याय र दमनविरुद्ध भने मौन नबस्ने स्पष्ट पारे।

