काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन विवादबारे छानबिन गर्न समिति गठन गरेको छ। बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्ने क्रममा भएका कामकारबाहीबारे निष्पक्ष छानबिन गर्न समिति बनाइएको बोर्डले जनाएको छ।
यसअघि अर्थ मन्त्रालयले पुस १ गते धितोपत्र बोर्डलाई पत्र पठाउँदै रिलायन्स स्पिनिङको बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासनबारे छानबिन गर्न निर्देशन दिएको थियो।
उक्त निर्देशनअनुसार बोर्डको बिहीबार (पुस ४) गतेको निर्णयबाट बोर्ड सदस्य विनोदकुमार भट्टराई र पीताम्बर भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न समयसीमा तोकिएको छ।
बोर्डका अनुसार छानबिनको क्रममा आवश्यक ठानेमा समितिले अन्य व्यक्तिलाई समेत आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको छ।
