काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज शुक्रबार नख्खु कारागारबाट रिहा हुने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार उनलाई धरौटीमा छाड्न आदेश दिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनी आज थुनामुक्त हुन लागेका हुन् ।
अदालतले लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत र थप १ करोड रुपैयाँ धरौटी बुझाउने सर्तमा रिहा गर्न आदेश दिएको थियो ।
न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिगो बमोजिमको दायित्व स्वीकार गर्ने कागज गराएर उनलाई तारेखमा राख्न भनेको हो ।
बिहीबार नै रिहा हुने चर्चा चले पनि रुपन्देही जिल्ला अदालतमा उपस्थित भई बैंक जमानत प्रमाणीकरण र सनाखत गर्नुपर्ने प्राविधिक कारणले उनी हिजो छुट्न सकेका थिएनन् ।
लामिछाने हाल ललितपुरको नख्खु कारागारमा रहेकाले उनलाई आजै रुपन्देही लैजाने वा त्यहाँबाट प्राप्त पत्रका आधारमा प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।
सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा पक्राउ परेका लामिछानेले आफूमाथि लागेको बिगो तिर्न मन्जुर रहेको भन्दै बैंक जमानत पेस गरेका थिए । अदालतले उनलाई विदेश जानुअघि पूर्व अनुमति लिनुपर्ने लगायतका तीनवटा सर्त समेत राखेको छ ।
लामिछाने रिहा हुने भएपछि नख्खु कारागार र रुपन्देही अदालत परिसरमा उनका समर्थकहरूको ठुलो उपस्थिति रहेको छ । सम्पूर्ण कागजी प्रक्रिया र बैंक जमानतको प्रमाणीकरण सकिएलगत्तै कारागार प्रशासनले उनलाई आजै थुनामुक्त गर्नेछ ।
