वीरगन्ज । काठमाडौंस्थित केन्द्रीय कारागार तोडेर फरार भएका दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। लागू औषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला गत भदौ २४ गते कारागारबाट भागेका दुई युवकलाई प्रहरीले करैयामाई गाउँपालिकाबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका वडा नं.७ पिपरा निवासी २९ वर्षीय विवेक चौधरी र २३ वर्षीय कृष्णा चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरी चौकी बारागढीबाट खटिएको विशेष टोलीले उनीहरूलाई लुकिछिपी बसिरहेको अवस्थामा आफ्नै गाउँ पिपराबाट पक्राउ गरेको हो।
काठमाडौं जिल्ला अदालतको आदेशमा लागू औषध मुद्दामा पुर्पक्षका लागि सुन्धारास्थित जगन्नाथदेवल कारागारमा रहेका उनीहरू कारागारको सुरक्षा घेरा तोडेर फरार भएका थिए।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगन्जस्थित कारागार कार्यालय पर्सामा चलान गरिएको बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिए ।
