वीरगन्ज । पर्सामा ४ करोड ७७ लाखभन्दा बढीको अवैध सुपारीसहित दुई ट्रक र दुई चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.२ बाईपास रोडस्थित निशान्त रोनावतको दाल फ्याक्ट्रीबाट उक्त अवैध कारोबार फेला पारेको हो।
गत पुस ३ गते दिउँसो साढे १२ बजेको समयमा वीरगञ्ज भन्सारबाट महोत्तरीको बर्दिवासका लागि पैठारी भएको भनिएको सुपारी उक्त फ्याक्ट्रीमा शंकास्पद रूपमा अनलोड भइरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो।
प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार ना.७ख. ७४२० नम्बरको टेलर ट्रकबाट सुपारी अनलोड हुँदै गर्दा र सोही स्थानमा अनलोडका लागि ठिक्क पारिएको ना.४ख. ६८३२ नम्बरको १४ चक्के टेलर ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने चालकहरूमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २० का ४१ वर्षीय राम भरोस महरा र वडा नं. १९ का ५१ वर्षीय राम प्रसाद यादव रहेका छन्।
प्रहरीले दुवै ट्रकमा गरी करिब १८०० बोरा सुपारी बरामद गरेको छ। बरामद सुपारी र ट्रकको कुल मूल्याङ्कन ४ करोड ७७ लाख ४० हजार रुपैयाँ गरिएको छ।
नियन्त्रणमा लिइएका मानिस, ट्रक र सुपारीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ।
