वीरगंज । समाचार संकलनका क्रममा पत्रकार शैलेश गुप्तामाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई कारवाही गर्न प्रेस चौतारी नेपाल पर्साले माग गरेको छ ।
जीराभवानी गाउँपालिकाका कर्मचारीबाट भएको दुर्व्यवहारको विरोधमा मंगलबार प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रको अगुवाइमा गएको टोलीले प्रजिअ भोला दाहाललाई घटनाको जानकारी गराउँदै दुर्व्यवहार गर्ने कर्मचारीलाई अविलम्ब कारबाही गर्न माग गरेको हो।
घटना विवरण अनुसार गत बुधवार फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक तथा प्रेस चौतारी नेपाल पर्साका सदस्य शैलेश साह गुप्ता जीराभवानी गाउँपालिकामा कार्यालय समयमा कर्मचारीहरूको अनुपस्थितिको फोटो खिच्ने क्रममा थिए।
सोही क्रममा गाउँपालिकाका कर्मचारीहरू जितेन्द्र मिश्र, इन्द्रजीत हजरा लगायतले पत्रकार गुप्तामाथि अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेका थिए। उनीहरूले पत्रकार गुप्ताको मोबाइल फोन खोसेर फोटोहरू समेत डिलिट गरिदिएका थिए।
सोही घटनाको विषयमा प्रेस चौतारी नेपाल पर्साको टोली प्रमुख जिल्ला अधिकारी दाहाललाई भेट्न जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका थिए । त्यसअघि उनीहरु कारवाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुगेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले निजामती कर्मचारीको विषयसँग सम्बन्धित रहेकोले प्रमुख जिल्ला अधिकारीसँगै जान सुझाव दिएका थिए ।
जिल्ला प्रशासन कार्यालय, पर्सा पुगेका सञ्चारकर्मीहरूको टोलीले घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेपछि प्रजिअ भोला दाहालले तत्कालै कर्मचारीहरुलाई हाजिर हुन निर्देशन दिएका छन् ।
जीराभवानी गाउँपालिकाका कर्मचारीहरू मिश्र र हजरालाई मौखिक आदेश दिँदै मङ्गलबार बिहान ११ बजे सिसीटिभी फुटेजसहित जिल्ला प्रशासन कार्यालय, पर्सामा हाजिर हुन निर्देशन दिएका हुन्।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्र, केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज तुलसी भण्डारी (बिजय), जिल्ला उपाध्यक्ष लक्ष्मी खरेल, किरण सत्याल, नेपाल पत्रकार महासंघ, पर्साका सहसचिव एसके चौरसिया, शैलेश गुप्ता, राजन रौनियार, राजन सिंह, दिपेन्द्र बिसी, कन्हैया गुप्ता, रामजी यादव, मृत्युन्जय साह, अभिलाष गुप्ता, कृष्णा श्रीवास्तव, विजय साह, पानालाल साह लगायतका सञ्चारकर्मीहरू उपस्थित थिए।
यसैबीच, नेपाल पत्रकार महासंघ, पर्सा शाखा ले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।महासंघका सचिव विजयकुमार महतोले जारी गरेको विज्ञप्तिमा समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि भएको अभद्र व्यवहारको भर्त्सना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि अविलम्ब कारबाहीको माग गरिएको छ।
विज्ञप्तिमार्फत नागरिकको सुसूचित हुने अधिकारको रक्षाका लागि सञ्चारकर्मी र सिङ्गो सञ्चार क्षेत्रको सुरक्षामा संवेदनशील बन्न सरोकारवाला पक्षको ध्यानाकर्षण पनि गराइएको छ।

