वीरगन्ज । वीरगन्जमा भोली बुधबारदेखि प्याब्सन ‘दोस्रो छात्रा तथा जुनियर छात्र टि–२० क्रिकेट’ प्रतियोगिता भोलीदेखि हुने भएको छ । निजी तथा आवासीय विद्यालय संगठन वीरगन्ज महानगर कमिटिको आयोजनामा गतबर्षदेखि सुरु गरेको प्रतियोगिता यसपटक (भोली) बुधबारदेखि हुने भएको हो ।
प्रतियोगितामा प्याब्सन अन्तर्गतका विद्यालयहरुका ३३६ वटा छात्राहरुको टिम र ३३४ वटा जुनियर छात्रहरुको टिमले सहभागिता जनाउने मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।
प्रतियोगिताको बुधबार बिहान ११ बजे आदर्शनगर रंगशालामा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्ने प्याब्सन महानगरका सचिव अमित आलोकले जानकारी दिए ।
प्रतियोगिता टी–२० नकआउट ढाँचामा खेलाईने जनाएको छ । यसले युवा खेलाडीहरुलाई सीमित समयमा नै आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने आयोजकको दावी छ ।
विद्यार्थीहरुलाई खेलकुदप्रति रुची जगाउने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने, अनुशासन, नेतृत्व क्षमता, आपसी सहयोग तथा सामूहिक कार्यको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना सुरु गरिएको प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिए ।
वीरगन्जको खेलकुद र विशेषगरी छात्रातर्फको क्रिकेटको विकास प्राथामिकतामा राख्दै आयोजना गर्न लागिएको प्रतियोगिताले विद्यार्थीहरुमा आत्मविश्वास बढाउनुका साथै भविष्यमा दक्ष खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु-याउने प्याब्सन महानगरले विश्वास जनाएको छ ।
गतबर्ष आयोजना गरेको पहिलो प्रतियोगिताबाट साउथजोन माविकी शिवानी साह र अल्पाईन माविकी प्रियंका यादव जिल्ला महिला क्रिकेट टिममा समेत पर्न सफल भएकोले प्रतियोगिता उपलब्धीमूलक रहेको प्याब्सन महानर सचिव तथा क्यान पर्साका सदस्य अमित आलोकको भनाई छ ।
देशभरमा ४४ जिल्लाले महिला क्रिकेट सञ्चालन गरिरहेकोमा प्याब्सन वीरगन्ज महानगरपालिकाले शुरु गरेको छात्रा क्रिकेट प्रतियोगिताले दक्ष छात्रा खेलाडीहरु उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।
प्रतियोगिता आयोजनाका लागि ७ देखि ८ लाख रुपैया बजेट लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका विजेताले ट्रफि, प्रमाणपत्र र मेडल पाउने छ ।
त्यस्तै दोस्रो हुनेले ट्रफि र प्रमाणपत्र, तेस्रो हुनेले ट्रफि पाउनेछ । प्रतियोगिताभर उत्कृष्ट खेल्ने विद्यार्थी खेलाडीहरुलाई पनि विभिन्न विधामा पुरस्कार राखिएको आयोजक प्याब्सनले जनाएको छ । त्यस्तै प्लेट च्याम्पियनशिप विनर ट्रफि, सहभागी स्कुलहरुलाई प्रमाणपत्र पाउने छ ।
वीरगन्ज महानगर वडा नम्बर १४ पिपरा स्थित सनसाईन इंग्लिश स्कुलमा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्ला सचिव अशोक संग्रौला, महानगर उपाध्यक्ष शर्मानन्द कुश्वाहा, सदस्य विजय बल, सल्लाहाकारहरु मार्टिन मोक्तान र आलोक चौरसिया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव अमित आलोकले नै गरेका थिए ।
