वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना चालक र पिकअप गाडी नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १७६ किलोग्राम गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतका अनुसार, गत सोमबार (२९ गते) बेलुका करिब ८:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १७ कोनिया स्थित सामुदायिक अस्पताल अलौबाट कोनिया जाने ग्राबेल सडकखण्डमा खटिएको प्रहरी चौकी सिर्सियाको टोलीले बा. २१ च ७८५५ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा गाडीको पछाडिपट्टि प्लाष्टिकको बोरामा परालले छोपी लुकाइछिपाइ राखिएको अवस्थामा १२ पोका लागुऔषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो। बरामद भएको गाँजाको कुल तौल १७६ केजी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजा तस्करीमा संलग्न रहेको आरोपमा गाडी चालक रामेछाप, खाडादेवी गाउँपालिका वडा नं. १ बस्ने वर्ष २८ का सुबराज श्रेष्ठलाई पक्राउ गरेको छ।
पक्राउ परेका चालक श्रेष्ठ र बरामद गरिएको गाँजा तथा पिकअप गाडीसहित थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।
