वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगन्ज महानगर समितिको प्रथम भेला सोमबार वीरगन्जमा सम्पन्न भएको छ । भेलाले अमन आलमको नेतृत्वमा सर्वसम्मत रूपमा २५ सदस्यीय महानगरको नयाँ नेतृत्व चयन गरेको छ ।
भेलाबाट उपसभापतिको जिम्मेवारीमा परितोष द्विवेदीलाई चयन गरिएको छ । नवगठित कार्यसमितिको सचिव पदमा आस्था गौतम, सहसचिव पदमा मुना साह सर्वसम्मत चयन भएको रास्वपा पर्साका अध्यक्ष हरि पन्तले जानकारी दिए ।
अध्यक्ष पन्तले नवनिर्वाचित सभापति, उपसभापति, सचिव, सहसचिव लगायत सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
महानगर समितिले पार्टीका सिद्धान्त र उद्देश्यहरूलाई स्थानीय स्तरमा सशक्त रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् । यसअघि भेलाको उदघाटन सत्रको पार्टीका केन्द्रीय कार्यवाहक सभापति तथा पूर्वमन्त्री डीपी अर्यालले गरेका थिए ।
पर्सा सभापति हरि पन्तको सभापतित्वमा भएको रास्वपा महानगरको भेलामा पार्टीका संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, केन्द्रीय सदस्य डा.नन्दन यादव, मधेस प्रदेशका महामन्त्री मनिष साह, पर्साका क्षेत्रीय सभापतिहर राम आर्य, फैयाज आलम, जितेन्द्र मिश्र र मनोज कुमार कुर्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन रास्वपाका नेता कृष्णा पासवानले गरेका थिए । रञ्जित राम, प्रमोद रायमाझी, सबु कडेंलको निर्वाचन समितिले महानगरको नेतृत्व सर्वसम्मत चयन गरेका हुन् ।
