वीरगन्ज । वीरगन्जमा सञ्चारकर्मीहरुको लागि कृत्रिम बुद्धिमता (एआई) प्रयोग सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।
मधेस प्रदेश सरकार आमसञ्चार प्राधिकरण जनकपुरधामको आयोजना तथा नेपाल पत्रकार महासंघ पर्साको समन्वयमा भएको तालिमको प्रमुख अतिथि मधेस प्रदेशका प्रथम मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लालबाबु राउत गद्दीले अहिले कम्प्युटरको युग भएकोले कृत्रिम बुद्धिमताको तालिम पत्रकारहरुलाई उपयोगी हुने बताए ।
उनले समाज र राज्यको लागि सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेकोले एआईको प्रयोगबाट गरिने पत्रकारिता समाज र राज्यको लागि सकारात्मक हुनुपर्ने बताए ।
मधेस प्रदेशमा आफ्नो कार्यकालमा स्थापना गरिएको आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल संस्था गठन गरेको स्मरण गर्दै सञ्चारक्षेत्रलाई चाहेजति आफूले सहयोग गर्न नसकेको स्वीकारे ।
कोरोना महामारीको समयमा आफ्नो नेतृत्वको सरकारले सञ्चारकर्मीहरुका लागि ५० लाखको वीमा गर्ने निर्णय गरेपनि आफ्नै सरकारभित्रका केही व्यक्तिहरुका कारण त्यो कार्यान्वयन हुन नसकेको उनको भनाई थियो ।
संघीयताको सवालमा सञ्चार माध्यमहरुले खेलेको भूमिका प्रशंसनीय रहेको बताउदै पूर्वमुख्यमन्त्री राउतले अझै संघीयतालाई स्थापित गराउन र देशको राजनीतिक स्थायीत्वका लागि शासकीय स्वरुप राष्ट्रपति प्रणाली र निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्नेमा जोड दिए । उनले यसको लागि सञ्चार माध्यमहरुको भूमिका आवश्यक हुने बताए ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, विश्व पत्रकार महासंघका सहसचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघका मधेस प्रदेश सचिव दीपक गौतम, पर्सा अध्यक्ष ओमप्रकाश खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पर्साका विभिन्न सञ्चार माध्यममा आवद्ध ८५ जना सञ्चारकर्मीहरुको उपस्थितिमा भएको तालिमको उदघाटन सत्रको सञ्चालन नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले गरेका थिए । तालिममा पत्रकार सुरेश विडारी र प्रकाश मैनालीले सहजीकरण गरेका आमसञ्चार प्राधिकरण मधेस प्रदेशकी प्रशासन प्रमुख रञ्जिता साहले जानकारी दिईन् ।
