सर्लाही। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले मधेश प्रदेशका चार जिल्लाका निर्माणाधीन तथा अलपत्र सडक, पुल, सिँचाइ र विद्युत आयोजनाहरूको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले विकास आयोजनाहरू समयमा सम्पन्न नहुँदा स्थानीय बासिन्दाले भोग्नुपरेको वर्षौं लामो पीडा र आक्रोशलाई नजिकबाट महसुस गरेको बताएका छन् ।
मन्त्री घिसिङले बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा सञ्चालित विभिन्न आयोजनाहरूको अवस्था बुझ्दै, सडक र पुल समयमै नबन्दा विद्यालय जाने बालबालिका, उपचार खोज्ने बिरामी, तथा उत्पादन बोकेका किसानहरूको दैनिकी कति कष्टकर बनेको छ भन्ने प्रत्यक्ष अनुभव भएको जनाएका छन् ।
उनले पूर्व–पश्चिम राजमार्गको दुधौरा पुल, रौतहट–सर्लाली जोड्ने बागमती नदीका दुई वटा पुल, रौतहटको उत्तरी क्षेत्रको चाँदी पुल र बाराको जीतपुर सिमरा उपमहानगरपालिका—१७ स्थित पसाहा खोलामा पुलको अभावमा स्थानीयले गर्दै आएको जोखिमपूर्ण यात्रालाई केवल भौतिक संरचनाको अभाव मात्र नभई ‘राज्यप्रतिको भरोसामाथिको चोट’ भएको टिप्पणी गरेका छन् ।
मन्त्री घिसिङले वर्षौंसम्म जनताले भोगिरहेको पीडाको अब अन्त्य हुनैपर्ने दृढता व्यक्त गर्दै, ‘जनताको दुःखमा सरकार उदासीन हुँदैन’ भनेका छन्।
साथै, उनले काममा लापरवाही गर्ने तथा ढिलासुस्ती गर्ने जो–कोहीलाई जिम्मेवार बनाइने र जनताले विकासको प्रत्यक्ष अनुभूति गर्ने गरी काम अगाडि बढाइने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री घिसिङको मधेस प्रदेशका विकास आयोजनाको निरीक्षणले लामो समयदेखि निर्माणाधीन आयोजनाहरूमा सरकारको ध्यान केन्द्रित भएको र ठेकेदार कम्पनीहरूलाई समयमै काम सम्पन्न गर्न दबाब बढेको देखिएको छ।
