काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २३औँ विश्व पर्वत दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पर्वतहरूको संरक्षणमा जोड दिएका छन् ।
पर्वतहरूलाई ‘प्रकृतिका अमूल्य धरोहर’ भन्दै उनले जलवायु परिवर्तनले सिर्जना गरेको जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।संयोजक दाहालले आफ्नो सन्देशमा पर्वतले जल, वन, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जनलाई आधार प्रदान गरे पनि जलवायु परिवर्तनका कारण हिमशृङ्खलाहरू तीव्र गतिमा पग्लिरहेको र पहाड–पर्वतहरूको पारिस्थितिक प्रणाली असन्तुलित बन्दै गएको उल्लेख गरेका छन् ।
सन्देशमा भनिएको छ, “यसको प्रत्यक्ष असर नेपालजस्ता अल्पविकसित राष्ट्रहरूमा बाढी, खडेरी, माटो क्षयीकरण र खाद्य असुरक्षाको रूपमा देखा परेको छ।”
८० प्रतिशतभन्दा बढी भूभाग पर्वतीय रहेको नेपाल हिमालयको काखमा अवस्थित हुनुका कारण जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमहरूको अग्रपङ्क्तिमा रहेको उनले बताएका छन् ।
“हिमनदी पग्लनु, नदीहरूको जलप्रवाहमा आएको अस्थिरता र करोडौँ मानिसहरूको जीवन जोखिममा पर्नु, अल्पविकसित राष्ट्रहरूले भोगिरहेको यो पीडा विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको प्रत्यक्ष परिणाम हो।” संयोजक दाहालले थपे ।
यस अवसरमा संयोजक दाहालले पर्वतीय वातावरणको संरक्षणका लागि सबै सरोकारवालाहरूले साझा पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
