वीरगंज । नेपाल भन्सार एजेन्ट महासंघले भन्सार ऐन २०८२ का केही दफाहरूले एजेन्टहरूको पेशागत हकहितमा गम्भीर असर पार्दै अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमै बाधा पुगेको भन्दै तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले जरिवानाका अत्यधिक र कडा प्रावधानहरू संशोधन नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। महासंघले बुधबारदेखि कलम बन्द गर्ने घोषणा गरेको छ र सम्पूर्ण भन्सार एजेन्टलाई यो निर्णयमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।
संशोधनका लागि मुख्य रूपमा ऐनका दफा ३३(२) र ७१ तथा ७२ का विभिन्न उपदफाहरूमा तोकिएका १००% देखि २००% सम्मको जरिवाना, गलत कागजात, मूल्य फरक, उत्पत्तिको देश फरक, गलत घोषणा लगायतका कारण राखिने कडा दण्डप्रति महासंघले आपत्ति जनाएको छ।
यस विषयमा सरकार र भन्सार विभागको आधिकारिक प्रतिक्रिया भने अझै आइसकेको छैन। यसैबीच वीरगन्ज भन्सार एजेन्ट संघले महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । संघका अध्यक्ष राजमान तामाङले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएकाे ऐनमा राखिएको प्रावधानमा महासंघले गरेकाे विराेधमा ऐक्यबद्धता जनाएको हाे ।
