वीरगन्ज । महानगर, उपमहानगर र नगरपालिकाहरूको सञ्जाल सिटीनेट नेपालको राष्ट्रिय अध्यायको वीरगन्जमा सम्पन्न बैठकले हालै भएको जेनजी आन्दोलनले ध्वस्त भएका संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्न संघ र प्रदेश सरकारसँग औपचारिक माग गरेको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनका कारण पालिकाहरूको पूर्वाधार संरचनामा क्षति पुगेको र त्यसले सेवा प्रवाहमा समस्या भएको औंल्याउँदै सिटीनेट नेपालले सरकारको ध्यानाकर्षण गराएको हो।
वीरगन्ज महानगरपालिकाको आयोजनामा भएको यस महत्वपूर्ण बैठकले नेपालका सहरहरूलाई जलवायु परिवर्तन, प्रदूषण, र विपद्को बढ्दो जोखिम सामना गर्न थप सक्षम बनाउनका लागि विपद् जोखिम न्यूनीकरण अनुसन्धान तथा प्रशिक्षण केन्द्र स्थापना गर्ने सामूहिक निर्णय गरेको छ।
देशभरका १६ वटा पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको बैठकले सहरी विकास, प्रदूषण व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, र सहरबीचको सहकार्य लगायतका विषयमा गहन छलफल गरेको थियो।
बैठकले विपद् सम्बन्धी कोष स्थापना गर्ने, नगरपालिका समूह दर्ता गर्ने, कार्ययोजना तयार गर्ने, सदस्य पालिकाहरूबिच सञ्जाल दर्ता गर्ने र प्रत्येक ६ महिनामा बैठक बस्ने लगायतका अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ।
विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रा. डा. आममोदनी दीक्षित र डा। गणेश कुमार जिमीले विपद् जोखिम न्यूनीकरण केन्द्रको अवधारणाबारे प्रस्तुतीकरण गरेका थिए।
सिटीनेट नेपालले एसिया–प्रशान्त क्षेत्रका सहरहरूको बलियो सञ्जालका रूपमा स्थानीय सरकारहरूलाई दिगो विकास, विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा ज्ञान तथा अनुभव आदानप्रदानका लागि महत्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ।

