काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले दल दर्ताको समय थप गर्ने तयारी गरेको छ। यस सम्बन्धमा आयोगका पदाधिकारीहरू बुधबार साँझ बसेर आवश्यक प्रक्रियाबारे छलफल गरेका छन्।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार आयोगमा अझै पनि दल दर्ताका लागि निवेदन आउने क्रम रोकिएको छैन। दर्ताका लागि आएका दलहरूले समय थप गरी सहजीकरण गर्न आग्रह गरेपछि आयोग समय थप्ने तयारीतर्फ उन्मुख भएको उनले बताए।
आयोगका अनुसार बुधबारसम्म ८० भन्दा बढी राजनीतिक दल प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भइसकेका छन्। अब बाँकी दलहरूको सहज सहभागिता सुनिश्चित गर्न आयोग समय थपको अन्तिम निर्णय गर्न लागिपरेको बताइएको छ।

