वीरगञ्ज । पर्सा प्रहरीले ठूलो मात्रामा अनलाइन ठगी कार्यमा संलग्न एक गिरोहलाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नं. ८, प्रभु अस्पताल अगाडिको सडकखण्डबाट कार्तिक २६ गते दिउँसो १२ बजेको समयमा तीन जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २९, मुसैली बस्ने वर्ष ३५ का कृष्णा प्रसाद साह, सोही वडाका एक १४ वर्षीय नाबालक र बाराको बिश्रामपुर गाउँपालिका वडा नं. १ बस्ने वर्ष २१ का
राहुल मण्डल रहेका छन् । उनीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूले सर्वसाधारणलाई विभिन्न किसिमका प्रलोभन तथा झुक्यानमा पारी ठगी गर्ने गरेको पाइएको छ। उनीहरूले विभिन्न बैंकहरूमा ‘मनी मोल अकाउन्ट’ खोलेर उक्त खाताहरूमा कारोबार गराउने गरेका थिए।
ठगीका मुख्य माध्यमहरूमा सोशल मिडिया प्लाटफर्महरू मार्फत गरिने फिशिङ, ओटीपी फ्रड, रोजगार ठगी र नक्कली अनलाइन व्यापार ठगी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नयव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
यसका अतिरिक्त, उनीहरूले एआईको प्रयोग गरी विभिन्न कम्पनीहरूको आवश्यक कागजातहरू र सामानहरूको अर्डर बिल समेत बनाएर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, पक्राउ परेका व्यक्तिहरूले विभिन्न व्यक्तिका बैंक खाता र डिजिटल वालेटहरू प्रयोग गरी करिब १० करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको देखिएको छ। प्रहरीले उनीहरूको साथबाट ४३ थान एटीएम कार्ड समेत बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरू विरुद्ध बैंकिङ कसूर मुद्दा दायर गरी सम्मानित पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
