वीरगन्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले युएईमा अध्ययनको लागि भनेर प्रचार गरेका नक्कली कलेजको प्रलोभनमा नपर्न आग्रह गरेका छन् ।
नेपालका केही कन्सल्टेन्सीहरूले युएईको फ्री जोनमा नक्कली शैक्षिक संस्था दर्ता गरी अध्ययनका लागि विद्यार्थीहरूलाई पठाउने गरेको भन्ने गुनासो बढेपछि मन्त्री पुनले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूलाई सचेत गराउँदै यस्तो जालसाजीमा नफस्न आग्रह गरेका हुन् ।
युएई अध्ययनको तयारीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै महाविर पुनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,
‘युएईमा पढ्न जाने विद्यार्थीहरू सावधान ! नेपालका केही कन्सल्टेन्सीहरूले युएईको फ्री जोनमा इन्सटिच्युट दर्ता गरी नेपालबाट विभिन्न नक्कली कलेज पढ्न विद्यार्थीहरू दिन दिनै पठाइरहेको कुराको उजुरी आएको छ। त्यस्ता विद्यार्थीहरूले युएईमा दुःख पाइरहेको कुराको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ। सो कुराको गहन छानबिन हुँदैछ। कोही पनि नफस्नु होला।’
उनले विद्यार्थीहरूलाई युएई अध्ययनका लागि कन्सल्टेन्सी छनोट गर्दा र कलेज भर्ना हुँदा विशेष सावधानी अपनाउन र आधिकारिकता पुष्टि गरेर मात्र अगाडि बढ्न अनुरोध गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, नेपालका केही कन्सल्टेन्सीहरूले युएईको फ्री जोनलाई प्रयोग गर्दै नक्कली कलेजहरूको नाममा विद्यार्थीहरूलाई दिनहुँ पठाइरहेको भन्ने उजुरी प्राप्त भएको छ।
यसरी युएई पुगेका विद्यार्थीहरूले त्यहाँ ठूलो सास्ती भोगिरहेको जानकारी मन्त्रालयले दिएको छ।
यस विषयको गाम्भीर्यतालाई ध्यानमा राख्दै, सरकारले यस्ता ठगी कार्यमा संलग्न कन्सल्टेन्सी र गिरोहबारे गहन छानबिन थालेको छ।
