वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लाको सुशासन र सेवा प्रवाहमा कुनै किसिमको सम्झौता नगर्ने बताएका छन् ।
तीन दिन अघि जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा भएर आएका प्रजिअ दाहालले बिहीबार सञ्चारकर्मीहरुसँगको साक्षत्कार कार्यक्रममा आफू नागरिकको सेवाका लागि आएकोले नागरिकको सेवामा कुनैपनि किसिमको ढिलासुस्ती हुन नदिने प्रतिबद्धता जनाएका हुन् ।
सरकारी सेवामा प्रमुख जिल्ला अधिकारीको रुपमा आफूले सेवा गरेको चौथो जिल्ला पर्सा रहेको र यसअघि मधेसकै सप्तरी जिल्लामा पनि ११ महिना सेवा गरेको अनुभव रहेकोले मधेसका जिल्लाहरुको समस्या आफूले बुझेको बताउदै समाधानका लागि आफूले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
कुनैपनि समस्या समाधानका लागि सकारात्मक सोचले अगाडि बढाउनुपर्ने आफ्नो मान्यता रहेको बताउदै प्रअिज दाहालले नागरिकलाई दुःख दिने काम आफ्नो कार्यकालमा नहुने दावी गरे ।
पर्सामा आफू आएपछि सबै सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल गरिसकेको र राज्यले दिने सेवाहरुमा कुनैपनि सरकारी कार्यालयहरुले ढिलासुस्ती गरे अथवा नागरिकलाई दुःख दिने काम गरे अफूलाई सिधैं सम्पर्क गर्न पनि आग्रह गरे ।
उनले सीमाक्षेत्रबाट हुने अवैध ओसार पसार, चोरी तस्करीदेखि अपराध नियन्त्रणमा गम्भीर भएर लाग्ने बताए । नागरिकता र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीलाई अनावश्यक सर्जिमिन मुचुल्का बनाउन लगाउने काम नगर्ने बताए ।
सरकारी कार्यालयका सबै कर्मचारीहरुले सेवाग्राहीलाई गर्ने बोली व्यवहार गलत भएमा त्यसले सिंगो राज्यलाई प्रतिबिम्मित गर्ने भएकोले सरकारी कर्मचारीहरुले पनि सेवाग्राही अर्थात नागरिकसँग गर्ने व्यवहार र शैलीमा नम्रता हुनुपर्ने बताए ।
जिल्लामा आफ्नो क्षेत्राधिकारभित्र पर्ने सबै विषयहरुमा आफू गम्भीर रहेको र समग्र पर्सा जिल्लाका नागरिकहरुको गुनासो सम्बोधन गर्ने दायित्व पनि आफ्नो भएकोले त्यसबाट आफू पछि नहट्ने बताए ।
उनले आफूले आकर्षक जिल्ला भनेर मागेर नआएको नभई सरकारले आफूलाई नागरिकको सेवा गर्न पठाएकोले कसैले आफूलाई गलत काम गर्न दबाव र प्रभाव पार्न नसक्ने पनि बताए ।
कसैको दबाव र प्रभावमा काम नगर्ने बताउदै प्रकृया र कानून अनुसार मिलेको काममा कुनैपनि ढिलासुस्ती हुन नदिने बताए । प्रमुख जिल्ला अधिकारीकै कार्यकक्षमा भएको साक्षात्कार कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की,
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पूर्व अध्यक्ष दीपेन्द्र चौहान, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्क्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपाल मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे, पर्सा अध्यक्ष शिवनाथ यादव,
प्रेस चौतारी नेपालका मधेस प्रदेश अध्यक्ष लालबबु शेष, पर्सा अध्यक्ष निरञ्जन मिश्र लगायत विभिन्न सञ्चार संस्था र सञ्चार संगठनसँग आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
