वीरगञ्ज । नेपाल र भारतका सुरक्षाकर्मीहरूको संयुक्त टोलीले पर्सा जिल्लाको सीमा क्षेत्रबाट एक थान कटुवा पेस्तोलसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
बुधबार दिउँसो करिब साढे १२ बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी नायव उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको ९ जनाको टोली र भारतीय समकक्षी एस.एस.बी. ४७ बटालियनको ए कम्पनी हेडक्वार्टर पन्टोकाबाट खटिएका ५ जनाको संयुक्त गस्ती टोलीले हतियार सहित पक्राउ गरेको हो ।
टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६, इनर्वा र भारततर्फ पूर्वी चम्पारण जिल्लाको नुनियाडी पञ्चायत–१, अहिर्वा स्थित सानो सीमा स्तम्भ नं.३९०÷२२ नजिकै गस्ती गरिरहेको बेला उनीहरूलाई फेला पारेको थियो।
पक्राउ पर्नेहरूमा वीरगञ्ज म.न.पा.–५, कुम्हालटोलका अन्दाजी १८ वर्षीय सुमित कुमार मण्डल र बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–७ का अन्दाजी २८ वर्षीय संजय कुमार साह कलवार रहेका छन्। उनीहरू झाडीमा लुकीछिपी बसेको अवस्थामा फेला परेका थिए। उनीहरू बसेको स्थानमा खोजतलास गर्दा बोराभित्र लुकाइराखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद कटुवा पेस्तोलसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वराज योन्जनले जानकारी दिएको छ।
