काठमाडौं । सरकारले नवप्रवर्तन उद्यम (स्टार्टअप) कर्जाका लागि आवेदन आह्वान गरेको छ । अर्थतन्त्र विकासको लागि प्रमुख मानिएको स्टार्टअप कार्यक्रम अन्तर्गत इच्छुक योग्य उद्यमीहरूबाट परियोजना प्रस्ताव आह्वान गरेको छ।
यस वर्षको बजेटमा विनियोजन गरिएको रकमलाई परिचालन गर्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ९क्ष्भ्म्क्ष्० ले कर्जा सञ्चालन कार्यविधि बमोजिम आवेदन माग गरेको हो।
इच्छुक उद्यमीहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आफ्नो परियोजना प्रस्ताव पेस गरिसक्नुपर्नेछ। आवेदकहरूले कार्यविधिको दफा ४ अनुसार योग्यता पूरा गरेको हुनुपर्नेछ।
मुख्यतयाः सम्बन्धित क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीहरूलाई प्राथमिकता दिइएको औद्योगिक व्यवासाय प्रतिष्ठानले जनाएको छ।

प्रस्ताव तोकिएको ढाँचामा तयार गरी अनलाइनमार्फत् आवेदन दिन सकिने व्यवस्था गरिएको छ। प्राप्त जानकारी अनुसार, यो सहुलियतपूर्ण कर्जामा ३ प्रतिशत ब्याजदर लाग्नेछ र उद्यमीले परियोजना धितोमा २५ लाख रुपैयाँसम्म कर्जा पाउन सक्नेछन्।
यस वर्ष सरकारले यस कर्जाका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ। उद्योगमन्त्री अनिलकुमार सिन्हाको कार्ययोजना अनुसार माघ महिनाभित्र प्रारम्भिक छनोट गरिसक्ने लक्ष्यका साथ प्रतिष्ठानले आवेदन आह्वान गरेको हो।
आर्थिक बर्ष २०८०÷८१ देखि शुरु भएको यो कार्यक्रममा पछिल्लो समयमा आकर्षण बढ्दै गएको छ । सरकारले गरेको लगानीको पनि प्रतिफल प्राप्त हुन थालेको प्रतिष्ठानको भनाई छ ।
