वीरगञ्ज । पर्सा प्रहरीले कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुरमा करिब ६ महिनाअघि भएको ‘कर्तव्य ज्यान’ मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. २१ निवासी २२ वर्षीय भुट्टा भन्ने राज कुमार महतो रहेका छन्।
फरार रहेका राज कुमार महतोलाई विशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले बुधबार साँझ करिब ६ः४० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेटस्थित सडकखण्डबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार २०८२ साल वैशाख १५ गते राति करिब ९ बजे वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुरमा विवाहको जन्ती जाने क्रममा नाचगान बन्द गर्ने विषयलाई लिएर विवाद भएको थियो।
सोही विवादमा मनराज ठाकुर समेतका व्यक्तिहरूले ३६ वर्षीय जंग बहादुर महतो भन्ने धर्मबीर महतोलाई कुटपिट गरी कर्तव्य गरी हत्या गरेका थिए। घटना लगत्तै संलग्न व्यक्तिहरू फरार भएका थिए।
पक्राउ परेका प्रतिवादी राज कुमार महतोमाथि ज्यान सम्बन्धि कसूर ‘कर्तव्य ज्यान’ अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
