काठमाडौं । प्रधानमन्त्रीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेनए ले दबाब दिएको भनेर विभिन्न सञ्चार माध्यममा आएका खबरहरू भ्रमपूर्ण रहेको स्पष्ट पारेको छ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बुधबार बालुवाटारबाट जारी गरिएको एक प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको हो ।
यस्ता अफवाहहरूमा ध्यान नदिन सम्बन्धित सबै पक्षलाई आग्रह पनि गरेको छ। कसैलाई मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध रूपमा सम्माननीय प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्रको विषय भएको र कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने सचिवालयले जनाएको छ।
गृहमन्त्री अर्याल ‘जेनजी आन्दोलन’ बाट व्यक्त जनादेशअनुरूप गठन भएको सरकारमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएको र उहाँ आगामी निर्वाचन सम्पन्न गर्न, शान्ति सुरक्षा कायम राख्न तथा सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सचिवालयले उल्लेख गरेको छ।
सचिवालयले यस संवेदनशील परिस्थितिमा यस्ता अफवाहहरू नफैलाउन र त्यसमा विश्वास नगर्न सबै पक्षलाई अनुरोध गरेको छ।

