वीरगन्ज । जिल्लाका सबै छठघाटहरुमा श्रद्धालु भक्तजनहरुले निर्वाध र निर्भयका साथ छठपूजा गर्ने वातावरण मिलाउन सुरक्षा संयन्त्र तयार रहेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए । पर्सा जिल्ला भरको छठपूजामा कुनैकिसिमका उछृङखल गतिविधि हुन नदिन सुरक्षा निकाय सतर्क रहेको उनले बताए ।
त्यस्तै पर्सा जिल्लामा छठपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार ६४५ प्रहरी परिचालन हुने भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार अनुसार पर्सा जिल्लाभर करिब ३१५ स्थानमा छठघाटहरुमा सुरक्षाकर्मी परिचालन गरिने तयारी रहेको छ ।
छठपूजालाई लक्षित गरि बनाईएको विशेष सुरक्षा योजना अन्तर्गत प्रहरी उपरीक्षक सहित जिल्लामा ६४५ जना सुरक्षाकर्मी परिचालन गरिने प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।
त्यसमा क्युआरटी, मोबाईल टोली, रिजर्ब, स्ट्राईकिङ र सादा पोशाकमा सुरक्षाकर्मी खटाईने व्यावस्था मिलाईएको छ । भीडभाडमा गरगहना चोरी गर्ने, पाकेटमारहरुलाई नियन्त्रणमा लिन शादा पोशाकमा प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । वीरगन्जको घडिअर्वा पोखरी परिसरमा पने प्रहरीको कमाण्डपोष्ट नै राखिएको उनको भनाई छ ।
छठ पूजा व्यवस्थापन समिति घडिअर्वा पोखरीका अध्यक्ष राकेश साह कानुको अध्यक्षतामा शनिबार बसेको बैठकले छठघाटमा थप सुरक्षा बल तैनाथ गर्ने, सिसिटिभी क्यामरा मार्फत निगरानी बढाउने र पोखरी वरिपरि तीन तहको सुरक्षा घेरा कायम गर्ने निर्णय गरेको छ ।
बैठकले भीड व्यवस्थापनका लागि एक गेटबाट प्रवेश र अर्कोबाट निष्कासन हुने व्यवस्था मिलाउने, पोखरीभित्र बोट र डुंगा तयारी अवस्थामा राख्ने, तथा आकस्मिक अवस्थाका लागि दमकल पनि सतर्क राख्ने निर्णय गरेको प्रचार–प्रसार समितिका संयोजक प्रणय कुमारले जानकारी दिए ।
सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाबीच समन्वय गरी संयुक्त सुरक्षा व्यवस्था लागू गरिने पनि बैठकमा सहमति भएको छ। साथै, स्वयंसेवक परिचालन, सजावट र सरसफाइमा सहकार्य गर्ने तथा सूचनाको आदानप्रदान सहज बनाउने विषयमा छलफल भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, नेपाली सेनाका महासेनानी लोकेन्द्र कार्की, प्रहरी उपरीक्षक सुदीपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्ट र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक संतोष खनाल सहितको सुरक्षा निकाय र छठ पूजा व्यावस्थापन समिति तथा स्थानीय घडिअर्वा स्पोर्टस क्लबका पदाधिकारीहरुको सुरक्षा बैठक बसेर सुरक्षा व्यावस्था चुस्त दुरुस्त बनाउने निर्णय भएको छ ।

