वीरगन्ज । सशस्त्र प्रहरीले ६ किलो प्रतिबन्धित लागूऔषध गाँजा सहित एक भारतीयलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.–१६, भन्सार कार्यालय पछाडी मन्दिर ईलाकाबाट उक्त परिमाणको प्रतिबन्धित लागू औषध गाँजासहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले बिहीबार राति १०ः २० बजेको समयमा चेकजाँच गर्ने क्रममा भारत पटना बस्ने ७० वर्षीय ब्रम्ह सहनीलाई पक्राउ गरेको सशस्त्र प्रहरी प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका सहनीको झोला चेकजाँच गर्दा प्लाष्टिक र टेपले बेरी लुकाई छिपाई ल्याएको अन्दाजी ६ किलोग्राम अवैध लागु औषध गाँजा फेला परेको थियो। पक्राउ परेका ब्रम्ह सहनीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाहीको लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

