वीरगन्ज । भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेका विभिन्न सामान र सवारी साधन नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वाटर पर्साले भन्सार कार्यालय बुझाएको छ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले बुधबार वीरगञ्ज महानगरपालिका–१४, गण्डक चोकबाट भारतबाट सामान सहितको मोटरसाईकल बरामद गरेको थियो ।
भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले २ लाख ९५ हजार १४५ बराबरको सामान र बीआर २२ एन १०८० नम्बरको मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
भन्सार छलि गरी सामान ल्याउने व्यक्ति भने सशस्त्र प्रहरीको चेकिङमा सामान र मोटरसाईकल छाडेर भागेको सशस्त्र प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
नियन्त्रणमा लिइएको उक्त सामान आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।
यसैगरी, सोही गण मातहतको बोर्डर आउट पोस्ट अमरपटिबाट खटिएको टोलीले पर्साको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीबाट भारतबाट अवैध रुपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको २० हजार मूल्य बराबरको कम्प्युटर मोनिटरसमेत नियन्त्रणमा लिएको छ।
उक्त मोनिटर पनि आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।

