वीरगंज । सिर्सिया नदीको दीर्घकालीन संरक्षण र प्रदूषण नियन्त्रणका उपायबारे वीरगंज महानगरपालिकाले मंगलबार सरोकारवालाहरूसँग संयुक्त छलफल गरेको छ। पटक–पटक प्रतिबद्धता जनाए पनि उद्योगीहरूले फोहोर फाल्ने क्रम नरोकेपछि महानगरले सम्बन्धित निकाय, उद्योगी, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिलाई छलफलमा सहभागी गराएको हो।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्योगीहरूले ट्रिटमेन्ट प्लान्ट सञ्चालन नगरी सोझै फोहोर नदीमा फाल्ने प्रवृत्ति जारी राखेको भन्दै अब केवल प्रतिबद्धतामा सीमित नरहेर ठोस नतिजा देखिनुपर्नेमा जोड दिए ।
‘कारखाना निर्वाध चल्नुपर्छ, तर प्रदूषण नियन्त्रण अनिवार्य छ ।’ मेयर सिंहले भने, ‘अब सबै जिम्मेवार भएर अघि बढे मात्रै सिर्सिया सफा हुन्छ।’ उनले अटेरी उद्योगहरूलाई जरिवाना र फोहोर उद्योगमै थुपार्ने जस्ता कारबाहीसमेत गरिएको जानकारी दिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सिर्सिया नदीलाई मानव सभ्यताको प्रतीक बताउँदै यसको संरक्षण सबैको साझा दायित्व रहेको बताउनुभयो।
उनलेअटेरी गर्ने उद्योगहरूलाई चेतावनी दिए । उनले भने, ‘मानव सभ्यता भन्दा पहिलेदेखि कै नदिनालाहरु सभ्यता हुन् । यसलाई संरक्षण गर्नु सबैको दायित्व हो । त्यसैले यदि अब पनि फोहोर फाल्ने क्रम रोकिएन भने ट्रिटमेन्ट प्लान्ट बनाउनै पर्ने, नभए उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ।’
राज्यले कानून कार्यान्वयन गर्न थाल्यो भने उद्योगहरु बन्द गर्नुपर्ने अवस्था आउनेतर्फ उद्योगीहरुलाई सचेत गराउदै व्याहारिक रुपमा नदिनको प्रदूषण नियन्त्रणमा सबैको सकारात्मक पहल हुनुपर्ने बताए ।
यस्तै, बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले उद्योग स्थापनाको अनुमति दिने बेलामै प्रदूषण नियन्त्रणको दायित्व उल्लेख गरिएको भए पनि त्यसको पालना नभएको औंल्याए । उनले भने, ‘जथाभावी नदीमा प्रदूषित पानी मिसाउनु दण्डनीय कार्य हो ।’
मधेस प्रदेश उद्योग विभागका महानिर्देशक सुशील साहले उद्योग सञ्चालन र वातावरण संरक्षण सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले दीर्घकालीन समाधानका लागि एकीकृत ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न सुझाव दिए।
जितपुर सिमरा उपमहानगरपालिकाका उप–प्रमुख भोला प्रसाद अधिकारीले केही उद्योगहरूले ट्रिटमेन्ट प्लान्ट हुँदाहुँदै पनि प्रदूषित पानी निस्किरहेको वा सोझै नदीमा मिसाउने गरेको बताए।
छलफलमा सहभागी सरोकारवालाहरूले सर्वसम्मत रूपमा सिर्सिया सफाइलाई प्राथमिकता दिने, प्रदूषण नियन्त्रणका लागि ठोस कार्ययोजना बनाउने र नियमित अनुगमनलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेका छन्।

