वीरगन्ज । सशस्त्र प्रहरी बल र राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले पर्साको बीरगंजबाट अवैध रूपमा भन्सार छली ल्याइएको ठूलो परिमाणको सुन र चाँदीसहित नगद रकम बरामद गरेको छ।
सोमबार बीरगंज महानगरपालिका वडा नं.– ८, माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध सुन गोदाम गरी राखिएको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्सा र राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराको संयुक्त टोलीले छापा मारेको थियो।
बरामद गरिएका सुन र चाँदीलाई सुन चाँदी व्यवसायी संघ पर्सामा लगी मापन गर्दा २२५४.८६ ग्राम सुन (लगभग २ किलो २५५ ग्राम) र १०३५४.०७ ग्राम चाँदी (लगभग १० किलो ३५४ ग्राम) नियन्त्रणमा लिइएको छ।
यसका साथै, उक्त स्थानबाट ५५९.१० ग्राम सुन जस्तो देखिने धातु, ५५० ग्राम चाँदी जस्तो देखिने धातु तथा नेपाली १ लाख ९ हजार र भारतीय ४१ हजार ६० रुपैयाँ नगद पनि बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
बरामद गरिएका सम्पूर्ण सामग्रीसहित आवश्यक कारवाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए। भन्सार छली अवैध कारोबारमा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको बुझिएको छ।

