काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सचिवालयको एघारौँ बैठकले पार्टी एकतासम्बन्धी वार्तालाई यथाशीघ्र निष्कर्षमा पुर्याउने र आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको छ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा असोज २४ र २६ गते काठमाडौँमा सम्पन्न बैठकले वर्तमान सङ्कटको समाधान, गणतन्त्र र संविधानको रक्षाका साथै निर्वाचनको भरपर्दो वातावरण बनाउन लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति र पार्टीहरूबिच संवाद र सहकार्यलाई अघि बढाउने निर्णय समेत गरेको पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए।
उपाध्यक्ष ज्वालाका अनुसार वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकता सम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याउन दशौँ बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय गरिएको छ। एकीकृत समाजवादीले नेता बेदुराम भुसालको नेतृत्वमा नेताहरू प्रकाश ज्वाला र प्रमेश हमाल रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो।
त्यस्तै, एकीकृत समाजवादीले फागुन २१ को निर्वाचन घोषित मितिमै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
उपाध्यक्ष ज्वालाले भने, ‘प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदै पार्टीलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिने निर्णय भएको छ।’
पार्टीको स्थायी कमिटीको बैठक यही असोज २९ गते र केन्द्रीय कमिटीको भर्चुअल बैठक असोज ३० गते गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ।
निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा उमेर पुगेका नयाँ मतदाताहरूको नाम दर्ताको काम अघि बढाइरहेको सन्दर्भमा एकीकृत समाजवादीले उक्त प्रक्रियामा सहभागी हुन सबैसँग अपिल गरेको छ।
मतदाता नाम दर्ता गर्न सक्रिय रूपमा लाग्न पार्टी र जन वर्गीय सङ्गठनका सबै कमिटीहरूलाई निर्देशन समेत दिइएको नेता ज्वालाले जानकारी दिए।
