वीरगन्ज । पर्सामा भूमि समस्या समाधान आयोगले भूमिहीन दलित र सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपूर्जा ९लालपूर्जा० वितरण गर्न सुरु गरेको छ। यससँगै आयोगले मधेस प्रदेशमै पहिलोपटक लालपूर्जा वितरणको कार्य पर्साबाट सुरु गरेको हो।
शनिबार पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर १, सथवलमा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष जसवन्त यादव र आयोगका पर्सा अध्यक्ष तबरेज अहमदले संयुक्त रूपमा ४४ जना भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपूर्जा हस्तान्तरण गर्नुभयो। जसमध्ये ३७ जना भूमिहीन दलित र ७ जना अव्यवस्थित बसोबासी रहेका छन्।
पर्सामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी कुल ५ हजार १७८ जनालाई लालपूर्जा वितरण गर्ने लक्ष्य राखिएको आयोगका अध्यक्ष अहमदले जानकारी दिए । यो अभियान वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, ठोरी गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकामा सञ्चालन भइरहेको छ।
सथवलमा ६ दशकभन्दा लामो समयदेखि लालपूर्जाबिहीन जग्गामा बसोबास गर्दै आएका दलित र अव्यवस्थित बसोबासीहरूलाई यसपटक न्याय मिलेको छ। अध्यक्ष अहमदले दशैं लगत्तै ठोरी गाउँपालिकाको वडा नम्बर ४ का १ हजार १९७ जनालाई पनि लालपूर्जा वितरण गरिने जानकारी दिए ।
अध्यक्ष अहमदले आफ्नो कार्यकालमा लालपूर्जा वितरण गर्ने वाचा पूरा भएकोमा खुसी व्यक्त गर्दै, “यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण हो” भन्नुभयो। उहाँले बाँकी रहेका सबै ५ हजार १३४ भूमिहीनलाई पनि छिट्टै लालपूर्जा वितरण गरिने प्रतिबद्धता जनाए ।
लालपूर्जा वितरणका लागि आवेदन परेका व्यक्तिहरूको वडा र पालिका कार्यालयले प्रमाणीकरण गरेपछि, आयोगले जग्गाको नाप नक्सा तयार गरी पालिकामा पठाएको थियो। सोही प्रतिवेदनको आधारमा कार्यकारी समितिले सिफारिस गरेपछि लालपूर्जा वितरणको कार्य अगाडि बढाइएको हो।
कार्यक्रममा सखुवा प्रसौनी–१ का वडाध्यक्ष बासुदेव महतो थारु र आयोगका विज्ञ सदस्य सन्तोष पासवान लगायतको पनि उपस्थिति थियो।