वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचय पत्र वितरणका लागि अब शनिबार पनि बिहान ७ः३० बजेदेखि नै सेवा दिने भएको छ । कार्यालयले शुक्रबार सूचना जारी गर्दै परिचय पत्र वितरण प्रक्रियामा व्यापक परिवर्तन गर्दै शनिबार पनि सेवा दिने जनाएको छ । नेपाल सरकारले सम्पूर्ण सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट अनिवार्य गरेसँगै जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीको अत्यधिक चाप बढेको छ।
कार्यालयले जारी गरेको सूचनानुसार, हाल दैनिक ३५० देखि ४०० जना सेवाग्राहीलाई टोकन जारी गरी परिचयपत्रको विवरण भर्ने काम भइरहेको छ ।
तर सेवाग्राहीको चाप धेरै भएपछि कार्यालयबाट विवरण भर्नेका लागि २०८२ कार्तिक २८ गतेसम्मको टोकन जारी भइसकेको छ। सेवाग्राहीको भीडलाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सेवा समयमा भारी विस्तार र बिदाको दिनमा पनि सेवा दिन लागेको हो ।
सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले सेवा समय विस्तार गरे अनुसार असोज २६ गते आइतबारदेखि राष्ट्रिय परिचयपत्रको विवरण भर्ने सेवा दैनिक बिहान ७ः३० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म सञ्चालन हुनेछ।
यसका साथै, सेवाग्राहीको बढ्दो भीडलाई व्यवस्थापन गर्न र राष्ट्रिय परिचयपत्रको अनिवार्यतालाई ध्यानमा राख्दै भोलि असोज २५ गते शनिबार सार्वजनिक बिदाको दिनमा समेत सेवा सुचारू रहने निर्णय गरिएको छ।
त्यस्तै पालिका अनुसारको बार खारेज गरी टोकन प्रणालीलाई भने निरन्तरता दिएको छ । यसअघि लागू गरिएको पालिका अनुसारको सेवा प्रवाह तालिका अनुसार वीरगञ्ज महानगरपालिकाका लागि बिहीबार र शुक्रबार राखिएकोमा त्यसलाई खारेज गरिएको छ।
यद्यपि, पूर्ववत् समयमा टोकन लिई पालो पर्खिएका सेवाग्राहीलाई भने सो टोकनको मितिमा सेवा दिने व्यवस्था यथावत् राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
सेवाग्राहीको भीड व्यवस्थित गर्न र सेवा प्रवाह प्रभावकारी तुल्याउन जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा थप डेस्क र कर्मचारी उपलब्ध गराउन अनुरोध गरेको छ।
यस सम्बन्धमा विभागबाट छिट्टै २–३ वटा थप डेस्क उपलब्ध गराउने आश्वासन प्राप्त भएको जनाएको छ। माग अनुसारको डेस्क थपिएपछि दैनिक ५०० को संख्यामा परिचयपत्र विवरण प्रविष्ट गर्न सकिने अपेक्षा गरिएको छ।
त्यसैगरी परिचयपत्र नहुँदा तत्काल आफूले पाउनुपर्ने सेवाबाट वञ्चित भएका सेवाग्राहीहरू (विदेश जान राहदानी बनाउनुपर्ने, कुनै सुविधा लिन बैंक खाता खोल्नुपर्ने, वृद्ध, अपाङ्ग आदि) को हकमा विशेष व्यवस्था गरिएको छ।
उनीहरूले तत्काल परिचयपत्र बनाउनुपर्ने आधार, कारण र पुष्ट्याई सहित निवेदन दिन सक्नेछन् र सो निवेदनका आधारमा प्राथमिकताका साथ परिचयपत्र बनाइने व्यवस्था मिलाइएको छ।
