वीरगन्ज । संविधान दिवसको अवसरमा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले रक्तदानको आयोजना गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा ५ महिला र ४९ जना पुरुष गरी ५४ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा रसिला घिमिरे, सावित्री सिंह, सपना बम्जन, रिपु चौधरी, सुष्मा तामाङ लगायत ५४ जना रहेको रक्तसञ्चार केन्द्र वीरगन्जका जितेन्द्र प्रसाद कुश्वाहाले जानकारी दिए ।
विभिन्न खाले जटिल खालका बिरामीहरु अस्पतालहरुमा उपचाररत रहेको र उनीहरुको उपचारमा रगतको अभाव हुन नदिन रक्तदानको आयोजना गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
संविधान निर्माणका लागि गरिएको विभिन्न चरणका आन्दोलनमा शहिद भएकाहरुको सम्झना र घाईतेहरुको उच्च सम्मानका लागि पनि संविधान दिवसको दिन रक्तदान गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाका प्रमुख राजन श्रीवास्तवको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाँई र नेपाल रेडक्रस सोसाईटी पर्साको रक्तसञ्चार केन्द्रका प्रमुख प्रतिनिधि र प्रावधिकहरुको पनि उपस्थिति रहेको थियो ।