वीरगंज । वीरगन्जमा जारी कर्फ्यु हटाईएको छ । जिल्ला सुरक्षा समितिले वीरगंज महानगरपालिकाका केही क्षेत्रमा लगाइएको रात्रिकालीन कर्फ्यू हटाएको जनाएको छ।
अब बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म लाग्ने कर्फ्यू आदेश लागू हुने छैन। तर, जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगरपालिकाका केही क्षेत्रलाई भने अर्को सूचना नभएसम्मका लागि दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम दङ्गाग्रस्त घोषित भएका क्षेत्रहरू भने दंगाग्रस्त क्षेत्र कायमै रहने जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जारी गरेको सूचना अनुसार घण्टाघर चौकदेखि गण्डक चौकसम्मको राजमार्ग क्षेत्र, कारागार कार्यालय र त्यसको कम्पाउन्ड क्षेत्रभित्र दंगाग्रस्त क्षेत्र रहने जनाएको छ । प्रशासनले यी क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न थप कडाइ गरिने जनाएको छ।