वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति मोहम्मद सहाबुद्दीनका छोरा नक्कली परीक्षार्थी बनेको आरोपमा पक्राउ परेका छन् । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बुवा सहाबुद्दीनको सट्टामा परीक्षा दिइरहेको अवस्थामा उनका छोरा २५ वर्षीय मोहम्मद अफताब पक्राउ परेका हुन् ।
आइतबार मानविकी संकायको राजनीति शास्त्र स्नातकोत्तर तह, तेस्रो सेमेस्टरको परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी भएका उनलाई प्रहररीले पक्राउ गरेको हो ।
परीक्षा हलमा निरीक्षणका क्रममा अफताबले बुवा मोहम्मद शहाबुद्दीनको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको खुलासा भएको थियो। गोप्य सूचनाका आधारमा क्याम्पस प्रशासनले छानबिन गर्दा उनी फेला परेका थिए।
क्याम्पस प्रमुख मोहन यादवका अनुसार, पक्राउ परेका अफताबलाई वडा प्रहरी कार्यालय बिर्ताको जिम्मा लगाइएको छ।
उनले त्रिभुवन विश्वविद्यालयको सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा २७० (क) अनुसार अफताब र उनलाई परीक्षामा पठाउने बुवा शहाबुद्दीन दुवैमाथि कारबाही गरिने जानकारी दिए।
पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्। वीरगञ्ज महानगरपालिका–३, छपकैयाका बासिन्दा सहाबुद्दीन र अफताब बाबुछोरा हुन् ।