काठमाडौँ । सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारले बिहीबार निर्णय गरेपछि त्यसको व्यापक विरोध हुन थालेको छ । यो निर्णयप्रति आम सर्वसाधारण, सञ्चार सम्बद्ध संघसंस्था लगायतले विरोध जनाएका छन् ।
सरकारले विभिन्न सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी तथा विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरूले माइतीघरमा आज प्रदर्शन गरेका छन् ।
सरकारको यस्तो कदमले लोकतान्त्रिक समाजमा अभिव्यक्ति स्वतन्त्रतालाई निस्तेज गर्न खोजिएको पत्रकारहरुले बताएका छन् ।
उनीहरुले ‘लोकतन्त्र ह्याक हुँदैछ, निरंकुशता ब्याक हुँदैछ’ ‘सञ्जाल बन्द, आवाज बन्द’ ‘जनताको मुख थुन्न पाइँदै’, ‘अलोकतान्त्रिक निर्णय फिर्ता गर’, ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार, लगायतका प्लाकार्ड बोकेर प्रदर्शन गरेका थिए ।