सिमरा । बाराको सिमरामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भदौ २१ गतेदेखि २८ गतेसम्म आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा “लैंगिक समानताको प्रबर्द्धन र एकाग्रता, खेलकुद क्षेत्रमा महिलाहरुलाई दिनुपर्छ नेतृत्वको अग्रसरता” को नारा सहित प्रतियोगिता हुन लागेको हो ।
सिमरा रंगशालामा आयोजना गर्न लागिएको प्रतियोगिता बारे शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।
रात्री समयमा हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, दार्जिलिङको कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक क्लब गरी ८ टिमको सहभागिता रहनेछ ।
विगत चार वर्षदेखि भेट्रान फुटबल आयोजना गर्दै आएको सिमरा भेट्रान क्लबले महिला फुटबलको विकास र प्रवद्र्धनका लागि यसपटकदेखि महिला फुटबल प्रतियोगिता सुरु गरेको हो । क्लब अध्यक्ष राजकपुर राउतले प्रतियोगितालाई नियमित रुपमा आयोजना गर्ने प्रतिबद्धता जनाए ।
प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले महिला फुटबलको विकासमा यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सिमरालाई महिला फुटबल खेलाडी उत्पादनको केन्द्र बनाउन सकिने तर्क गरे । सम्मेलनमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। १४ की अध्यक्ष चयन गुरुङले खेल क्षेत्रमा महिलाहरुलाई अग्रसर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताइन् । उनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।
त्यस्तै वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठले विद्यालयस्तरमै महिला फुटबललाई विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । नव जनजागृति युवा क्लबका महासचिव शम्भु सिंह ठकुरी र आयोजक क्लबका हरी चौधरीले वर्षौंपछि महिला फुटबल प्रतियोगिता पुनः सुरुवात हुँदै गरेको सुनाउन पाउँदा उत्साहित भएको बताए ।
कार्यक्रममा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह, माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, क्लबका सल्लाहकार विनोद परियार, खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँले लगायतले प्रतियोगिताको सफलताको शुभकामना विश्वास व्यक्त गरेका थिए ।

